Logo

Nov 25 2025 | २०८२, मंसिर ९गते

Nov 25 2025 | २०८२, मंसिर ९गते

images

बूढीगण्डकी र अपर अरुण जलविद्युत् आयोजनाको लगानी मोडालिटी टुंगो, स्वदेशी लगानीमै निर्माण अघि बढ्ने

बूढीगण्डकी र अपर अरुण जलविद्युत् आयोजनाको लगानी मोडालिटी टुंगो, स्वदेशी लगानीमै निर्माण अघि बढ्ने

  • काठमाडौं । दीर्घकालदेखि अलपत्र जस्तो अवस्थामा रहेका दुई ठूला जलविद्युत् परियोजना—१२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त तथा १०६३ मेगावाटको अपर अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको लगानी ढाँचा (मोडालिटी) अन्ततः तयार भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार दुवै आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने गरी मोडालिटी तय गरिएको हो।

    ऊर्जा मन्त्री कुलमान घिसिङले दुवै आयोजनाको विस्तृत वित्तीय विश्लेषनसहितको प्रस्तावित मोडालिटी बुझ्दै आवश्यक स्वीकृतिका लागि अघि बढाउन निर्देशन दिएका छन्। उनले दुवै आयोजना ‘लामो समयदेखि चर्चा मात्रमा सीमित’ भएकाले अब लगानी ढाँचा अन्तिम गरी निर्माणतर्फ लैजानुपर्ने बताइछन्।

    बूढीगण्डकी जलविद्युत् आयोजनाको लगानी संरचना

    धादिङ–गोरखा क्षेत्रमा निर्माण हुने बूढीगण्डकी आयोजनाको आधारभूत लागत २ अर्ब ७७ करोड डलर (करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ) हुनेछ। ८ वर्षको निर्माण अवधिमा ३२ अर्ब व्याजसहित कूल लागत ४ खर्ब ६ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ।

    • कर्जा–इक्विटी अनुपात: ७० : ३०
    • प्रवर्द्धक कम्पनी: बुढीगण्डकी कम्पनी लिमिटेड
      • सरकारको शेयर : ८०%
      • नेपाल विद्युत प्राधिकरण (NEA) : २०%

    सरकारले आयोजनामा इक्विटीस्वरूप ९७ अर्ब ४७ करोड र सहुलियतपूर्ण कर्जास्वरूप १ खर्ब ५० अर्ब गरी कूल २ खर्ब ४८ अर्ब लगानी गर्ने प्रस्ताव छ। हालसम्म खर्च भएको ४५ अर्ब रकम कम्पनीको शेयरमा रूपान्तरण गरिनेछ।

    राजस्व, उत्पादन र विद्युत् दर

    आयोजनाबाट वार्षिक ३ अर्ब ३८ करोड युनिट विद्युत उत्पादन हुनेछ।

    • हिउँदयाम दरः १२.४० रुपैयाँ/युनिट
    • वर्षायाम दरः ७.१० रुपैयाँ/युनिट

    वार्षिक आम्दानी ३१ अर्ब ४८ करोड रुपैयाँ हुने अनुमान छ।

    भौतिक प्रगति र सम्भाव्यता

    • जग्गा अधिग्रहण प्रगति: ९०%
    • मुआब्जा वितरण: ४२ अर्ब ६५ करोड
    • प्रभावित परिवार: ८,११७
      • पूर्ण विस्थापित: ३,५६० परिवार
    • २६३ मिटर अग्लो आर्च बाँध
    • जलाशय क्षेत्रफल: ६३ वर्गकिलोमिटर

    बूढीगण्डकी ऊर्जा सुरक्षाका दृष्टिले महत्वपूर्ण मानिएको छ, किनकि यो काठमाडौं, पोखरा, चितवनजस्ता लोड सेन्टरको नजिक छ।

    अपर अरुण (१०६३ मेगावाट) जलविद्युत् आयोजनाको मोडालिटी

    सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने अपर अरुण आयोजनाको लागत १ अर्ब ७५ करोड डलर (२ खर्ब १४ अर्ब रुपैयाँ) अनुमान गरिएको छ।

    • ऋण–इक्विटी अनुपातः ७० : ३०
    • इक्विटी संरचना:
      • ५१% संस्थापक शेयर (प्रदेश/स्थानीय सरकार, NEA, टेलिकम, कोष, बीमा कम्पनी आदि)
      • ४९% साधारण शेयर (वैदेशिक रोजगारीमा रहेका नेपाली, NRNA, कर्मचारी, प्रभावित क्षेत्र, सर्वसाधारण)

    आयोजनाको निर्माणका लागि सहवित्तीयकरणमार्फत १ खर्ब ६८ अर्ब जुटाइनेछ। विश्व बैंकको लगानी अनिश्चित भएपछि सरकारले स्वदेशी बैंक तथा नेपाली समुदायकै लगानीबाट आयोजनालाई अघि बढाउने निर्णय गरेको हो।

    उत्पादन र पूर्वाधार

    • वार्षिक विद्युत उत्पादनः ४ अर्ब ५३ करोड युनिट
    • २१ किलोमिटर पहुँच सडक निर्माणाधीन
    • छोङराङमा ७० मिटर लम्बाइको स्टील आर्क पुल निर्माण भइरहेको

    अपर अरुणको विद्युतगृहसमेतको पहुँच विस्तारका लागि पूर्वाधार निर्माण तीव्र गतिमा अघि बढिरहेको प्राधिकरणले जनाएको छ।

    यी मोडालिटीहरू स्वीकृत भएपछि दुवै परियोजना स्वदेशी लगानी, सरकारी सहजीकरण र सहवित्तीयकरणको संयोजनमा आगामी वर्षदेखि निर्माणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij