Logo

Nov 26 2025 | २०८२, मंसिर १०गते

Nov 26 2025 | २०८२, मंसिर १०गते

images

स्टार्टअप कर्जा कार्यक्रमप्रति उद्यमीको आकर्षण दोब्बर, तर बजेट र ऋण सीमा घटाएर सरकारद्वारा कटौती

स्टार्टअप कर्जा कार्यक्रमप्रति उद्यमीको आकर्षण दोब्बर, तर बजेट र ऋण सीमा घटाएर सरकारद्वारा कटौती

  •  

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ का लागि स्टार्टअप उद्यम कर्जा कार्यक्रममा आवेदन दिने उद्यमीको सङ्ख्या गत वर्षको तुलनामा दोब्बरले वृद्धि भएको छ। उद्यमशीलतामा बढ्दो आकर्षणबीच सरकारले भने यो कार्यक्रमका लागि छुट्याइएको बजेट र अधिकतम ऋण सीमा दुवै घटाएको छ।

    औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका अनुसार मंसिर ९ सम्म तोकिएको समयभित्र १०,२४३ स्टार्टअप कम्पनीले कर्जाका लागि आवेदन दर्ता गराएका छन्। गत आर्थिक वर्षमा यो सङ्ख्या ५,१५८ मात्र थियो। यस वर्ष ८,२०३ कम्पनीले अनलाइनमार्फत, र २,०४१ कम्पनीले भौतिक कार्यालयमा उपस्थित भएर आवेदन दिएको प्रतिष्ठानका सूचना अधिकारी मणिराम गौतमले बताए।

    उद्यमीको चासो बढिरहे पनि सरकारले गत वर्षको १ अर्ब रुपैयाँ बजेट घटाएर यस वर्ष ७३ करोड मात्र विनियोजन गरेको छ। साथै, उद्यमीले पाउने कर्जाको अधिकतम सीमा पनि २५ लाखबाट २० लाख रुपैयाँमा झारीएको छ। तर ३ प्रतिशत ब्याजदर भने यथावत राखिएको छ।

    सूचना अधिकारी गौतमका अनुसार, गत वर्ष २५ लाख रुपैयाँ कर्जा लिने कम्पनी निकै कम रहेकाले र अधिकांश उद्यमीले १५–२० लाख को दायरा भित्र कर्जा उपयोग गरेको पाइएकोले विज्ञ समितिको सिफारिसमा सीमा घटाइएको हो।

    यद्यपि, ऋणीहरूलाई सुरक्षण कोषमा जम्मा गर्नुपर्ने रकममा सहुलियत दिइएको छ। पहिले कर्जाको २५ प्रतिशत रकम कोषमा राख्नुपर्नेमा यो व्यवस्थालाई घटाएर १० प्रतिशत मात्र कायम गरिएको छ। यसले उद्यमीलाई कर्जाको थप हिस्सा सञ्चालन पूँजीका रूपमा प्रयोग गर्न सहज बनाउनेछ।

    प्रतिष्ठानले अब प्राप्त आवेदनहरूबाट योग्य उद्यमी तथा कम्पनीहरूको छनोट ९शर्टलिस्ट० प्रक्रिया सुरु गर्ने जनाएको छ। योग्य आवेदन अत्यधिक भएमा बजेट अभाव देखिने भएकाले सरकारले बजेट वृद्धि गर्नुपर्ने दबाब पर्न सक्ने प्रतिष्ठानको अनुमान छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij