काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज मंसिर १० बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
एनपिएलमा विराटनगर किङ्ग्सको अपराजित यात्रा टुट्यो, चितवन राइनोज ४८ रनले विजयी
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले ब्रेक लगाएको छ ।
लगातार तीन खेल जितेको विराटनगर आज चौथो खेलमा चितवनसँग ४८ रनले पराजित भयो । जीतका लागि पाएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा १२६ रनमा समेटियो । जसमा मर्चेन्ट डे लाङले सर्वाधिक ३९, प्रतिश जिसीले ३० रन जोडे पनि हार टार्न सकेनन् । चितवनका रञ्जित कुमारले ५, कमलसिंह ऐरीले २ विकेट लिए ।
स्टार्टअप कर्जा कार्यक्रमप्रति उद्यमीको आकर्षण दोब्बर, तर बजेट र ऋण सीमा घटाएर सरकारद्वारा कटौती
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ का लागि स्टार्टअप उद्यम कर्जा कार्यक्रममा आवेदन दिने उद्यमीको सङ्ख्या गत वर्षको तुलनामा दोब्बरले वृद्धि भएको छ। उद्यमशीलतामा बढ्दो आकर्षणबीच सरकारले भने यो कार्यक्रमका लागि छुट्याइएको बजेट र अधिकतम ऋण सीमा दुवै घटाएको छ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका अनुसार मंसिर ९ सम्म तोकिएको समयभित्र १०,२४३ स्टार्टअप कम्पनीले कर्जाका लागि आवेदन दर्ता गराएका छन्। गत आर्थिक वर्षमा यो सङ्ख्या ५,१५८ मात्र थियो। यस वर्ष ८,२०३ कम्पनीले अनलाइनमार्फत, र २,०४१ कम्पनीले भौतिक कार्यालयमा उपस्थित भएर आवेदन दिएको प्रतिष्ठानका सूचना अधिकारी मणिराम गौतमले बताए।
प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता निवेदनको समय चार दिन थप
काठमाडौँ, १० मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले निवेदन दिने समय चार दिन थपिएको छ। निर्वाचन आयोगले यही मंसिर १ गतेदेखि १० गतेसम्म तोकिएको समय विभिन्न पक्षको अनुरोध आएपछि थप गर्ने निर्णय गरेको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, आज बसेको आयोग बैठकले निवेदन दिन नसकेको दललाई सहजताका लागि समय थपिएको जानकारी दिए। आयोगमा दर्ता भएका ठूला तथा अधिकांश नयाँ–पुराना दलले भने निर्धारित समयमै निवेदन दर्ता गराइसकेका छन्।
राधी विद्युत कम्पनीद्वारा हकप्रद निष्काशनको अनुमतिका लागि सेबोनमा आवेदन
काठमाडौँ । राधी विद्युत कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने तयारी गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा स्वीकृतिको लागि आवेदन दिएको छ। कम्पनीले मंसिर २ गते आधिकारिक रूपमा आवेदन दर्ता गराएको हो।
कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरको अनुपात १ः०.६९८९ रहेको छ, अर्थात् प्रत्येक १०० कित्ता सेयरबराबर ६९.८९ कित्ता हकप्रद प्राप्त हुनेछ।
सप्तकोशी सिमेन्ट लिमिटेड आईपीओ निष्कासन तयारीमा, २० प्रतिशत सेयर जारी हुने
काठमाडौँ । सप्तकोशी सिमेन्ट लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको जनाएको छ। कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका आधारमा जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणका लागि ल्याउने भएको हो।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ। उक्त नियुक्तिसम्बन्धी सम्झौतापत्रमा कम्पनीका तर्फबाट अध्यक्ष मोना जालान र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन्।
उद्योग मन्त्रालयको ३९ बुँदे सुधार कार्ययोजना सार्वजनिक, सेवा प्रवाहमा तत्कालन सुधारको तयारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक सेवालाई प्रभावकारी बनाउने लक्ष्यसहित ३९ बुँदे तत्काल सुधार कार्ययोजना कार्यान्वयनमा ल्याएको छ। मन्त्रालयले उद्योग, वाणिज्य र आपूर्ति क्षेत्रको समग्र सुधारका लागि स्पष्ट समयसीमा तोक्दै नीतिगत, कानुनी तथा प्रशासनिक परिवर्तन अघि बढाउने घोषणा गरेको हो।
कार्ययोजनामा व्यावसायिक सुशासन प्रवर्द्धन, गरिबी निवारणका लागि लघुउद्यम विकास, तथा दलित समुदायको परम्परागत एवं मौलिक पेसाको संरक्षण मार्फत रोजगारी र आयआर्जनका अवसर विस्तार गर्ने लक्ष्य राखिएको छ। यस उद्देश्यका लागि आगामी माघभित्र कम्पनी विधेयक, २०८२ को मस्यौदा तयारी गर्ने तथा लघु उद्यम विकास कार्यक्रम सञ्चालन निर्देशिका, २०७७ संशोधन गर्ने योजना समावेश छ।
कांग्रेस सम्बद्ध युवा–विद्यार्थीको मंसिर १२ नियमित महाधिवेशन समर्थनमा बृहत् भेला हुने
काठमाडौँ। नेपाली कांग्रेस सम्बद्ध युवा र विद्यार्थी संगठनहरूले आगामी मंसिर १२ गते नै नियमित महाधिवेशन गर्नुपर्ने मागसहित बृहत् भेला आयोजना गर्ने भएका छन्। भेला शुक्रबार बिहान ११ बजे तीनकुनेस्थित एक व्याङ्क्वेटमा सञ्चालन हुने जनाइएको छ।
कार्यक्रमका तयारीका लागि बुधबार बसेको बैठकमा पार्टीका बाग्लुङ जिल्ला सभापति जित शेरचन, तरुण दलका अध्यक्ष विद्वान गुरुङ, महिला संघकी अध्यक्ष उषा मिश्र, नेपाल किसान महासंघका अध्यक्ष गणेश चन्द्र तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो।
टीयूका सह-परीक्षा नियन्त्रक नियुक्तिमा अनियमितता: अख्तियारले चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय (टीयू) का तीनजना प्राध्यापक र एक सह-परीक्षा नियन्त्रकसहित चारजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। त्रि.वि. क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरमा सह-परीक्षा नियन्त्रक पदको चयन तथा नियुक्ति प्रक्रियामा अनियमितता र बदनियतपूर्ण कार्य भएको ठहर गर्दै आयोगले मंगलबार उनीहरूविरुद्ध आरोपपत्र दायर गरेको हो।
शेयर बजार : नेप्से परिसूचक ९.६१ अंकले बढेर २६६५.६० बिन्दुमा, ६ अर्ब ६९ करोड बढीको कारोबार
काठमाडौँ । बुधबार सेयर बजारको नेप्से परिसूचक ९.६१ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक ९.६१ बिन्दुले बढेर २६६५.६० अंकमा पुगेको छ । यो सहित ४ दिनदेखि बजार निरन्तर बढेको छ ।
६ अर्ब ६९ करोड २९ लाख ७१ हजार ९५ रुपैया पाँच पैसा बुधबार भएको छ । बुधबार १ करोड ३६लाख २० हजार ८ सय ३८ कित्ता शेयरको कारोबार भएको हो ।
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ सय रुपैयाँ बढाइए
काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ सय रुपैयाँ बनाइएको छ ।तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शुल्क बढाउने निर्णय अनुसार बढाइएको हो ।
त्यसअघि स्वास्थ्य व्यवसायीले वैदेशिक रोजगारीमा जाने श्रमिकबाट ६ हजार ५ सयसम्म लिने गरेका थिए ।
सहुलियतको समय सकिँदा ल्याउन खोजिएका युरो थ्री मापदण्डका गाडी पाँच प्रतिशत पनि आएन
काठमाडौँ । युरो–३ मापदण्डका सवारीसाधन आयात गर्न दिइएको सहुलियतको समय सकिन लागेपनि हालसम्म आयात गर्न खोजिएका गाडीहरू आउन सकेका छैनन् । सरकारले युरो–३ मापदण्डका सवारी साधन ल्याउन गत असोजमा दिइएको समय मंसिरमा सकिन लागेको बेलासम्म धेरै गाडी आउन बाँकी रहेका छन् ।
बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा २ लाख ४८ हजार ८०० रुपैयाँ कायम
काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा २ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार थप बढेर तोलामा २ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको हो ।
मार्जिन सेवा निर्देशिका मस्यौदा सार्वजनिक, तर ‘स्रोत’ अभावकै कारण सेवा सुरु हुने सम्भावना कमजोर
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०८२’ को प्रारम्भिक मस्यौदा सार्वजनिक गर्दै सात दिनभित्र राय–सुझाव माग गरेको छ। बोर्डले मस्यौदा आमसर्वसाधारणका लागि पनि उपलब्ध गराएपछि जो–कोहीले अध्ययन गरी आफ्ना सुझाव पठाउन सक्ने व्यवस्था मिलाइएको छ। तर मस्यौदालाई अध्ययन गरेका अधिकांश ब्रोकर कम्पनीका सञ्चालकले जारी मस्यौदामा केही सुधार भए पनि यसको आधारमा तत्काल मार्जिन सेवा सुरु गर्न नसकिने प्रतिक्रिया दिएका छन्।
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ। तर, पाउन्ड, कुवेती दिनारसहित केही मुद्रा भने महँगिएका छन्।
आज अमेरिकी डलर १ को खरिद दर १४२ रुपैयाँ ४६ पैसा र बिक्री दर १४३ रुपैयाँ ०६ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिद दर १४२ रुपैयाँ ४८ पैसा र बिक्री दर १४३ रुपैयाँ ०८ पैसा थियो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij