Logo

Nov 27 2025 | २०८२, मंसिर ११गते

Nov 27 2025 | २०८२, मंसिर ११गते

images

तुलसीपुरको औद्योगिक ग्राममा उद्योग स्थापना गरे पाँच वर्षसम्म छुटको घोषणा

तुलसीपुरको औद्योगिक ग्राममा उद्योग स्थापना गरे पाँच वर्षसम्म छुटको घोषणा

  • दाङ ।  तुलसीपुर उपमहानगरले औद्योगिक ग्राममा आफैं संरचना बनाएर उद्योग स्थापना गर्नेहरूलाई  पाँच वर्षसम्म कर छुट दिने घोषणा गरेको छ । तुलसीपुरमा लगानी ल्याउन लगानीकर्तालाई आकर्षित गर्न यस्तो व्यवस्था गरिएको हो ।

    छुट पाउनको लागि औद्योगिक ग्रामले उद्योग–व्यवसाय सञ्चालन गर्नका लागि उद्योगी आफंैले संरचना बनाउनु पर्ने भनेको हो । औद्योगिक क्षेत्रमा आफैं संरचना निर्माण गरेर उद्योग स्थापना गरेमा पाँच वर्षसम्म कर नलिइने तुलसीपुर उपमहानगरका नगर प्रमुख टिकाराम खड्काले सार्वजनिक घोषणा गरे। 

    उनका अनुसार उद्योग स्थापना भएमा रोजगारी सिर्जना भई रोजगारीका लागि बाहिर जानेहरुलाई सहज हुने उत्पादनसमेत वृद्धि हुने विश्वास गरिएको छ । नयाँ उद्योग उपमहानगरमा सञ्चालनमा रहेका भए औद्योगिक ग्राम क्षेत्रमा जान सक्ने छन् । औद्योगिक ग्राममा जुनसुकै उद्योग स्थापना गर्न सकिने छ । स्थानीयलाई प्राथमिकता दिइएको छ । तर बाहिरबाट आउनेलाई पनि रोक लगाइने छैन ।

    औद्योगिक क्षेत्रमा साना तथा ठूला उद्योग स्थापना गर्न सकिने छ ।प्रदूषण कम हुने खालका उद्योगहरु स्थापना हुन सक्ने प्रमुखको भनाइ छ । तुलसीपुर उपमहानगर–१६ मा १३ बिगाहा क्षेत्र औद्योगिक ग्रामका लागि छुट्याइएको छ । औद्योगिक ग्राममा उद्योगी–व्यवसायीलाई बस्ने वातावरण बनाउनका लागि आवश्यक संरचना विकास गरिँदैछ । 

    औद्योगिक ग्राममा उपमहानगरले १३ बिगाहा क्षेत्रमा फलामको पर्खाल लगाएर संरक्षण गरेको १६ का वडाध्यक्ष शिबानन्द डिसीले जानकारी दिए । औद्योगिक ग्रामसम्म सडक तथा विद्युतको पहुँच विस्तार भइसकेको उनले बताए । उनका अनुसार औद्योगिक ग्रामसम्म सहज सडक तथा विद्युत व्यवस्था भइसकेको छ । खानेपानीको लागि माग भए तत्काल व्यवस्था गर्न सकिने अवस्था छ । उद्योग स्थापनाका लागि उपयुक्त स्थान भएकाले उद्योगीले उद्योगमा लगानी गर्नका सुरुवात भइसकेको छ । एक जना उद्योगीले उद्योग स्थापनाका लागि शिलान्यास गरेका छन् । अन्य उद्योगीसमेत लगानी गर्नका लागि बुझ्न आउने गर्छन् । बजारबाट करिब ३ किलोमिटरको दूरी रहेकोले उत्पादन भएको वस्तु बजारसम्म पु¥याउन सहज हुने  छ । संरचना निर्माण गरेपछि उपमहानगरले पाँच वर्षसम्म कर छुट दिने तथा जग्गाको भाडासमेत सहुलियत मूल्यमा उपलब्ध गराउने भएपछि लगानी गर्नेहरुको आकर्षण बढ्ने  विश्वास गरिएको छ । 

    उद्योग स्थापना भएपछि स्थानीयले रोजगारी अवसर प्राप्त गर्ने छने् । औद्योगिक ग्राममा उद्योगी–व्यवसायीलाई आवश्यक पर्ने सुरक्षा व्यवस्थादेखि अन्य पूर्वाधार निर्माणको काम उपमहानगरले गर्ने नगर प्रमुख खड्काले बताए । चालु आर्थिक वर्षमा पनि यसका लागि बजेट छुट्याइएको उपमहानगरले जनाएको छ । औद्योगिक ग्राममा सार्वजनिक शौचालय, खानेपानीदेखि फिल्ड सम्याउने लगायतका काम चालु आर्थिक वर्षमै गरिने खड्काले बताए । तुलसीपुर उपमहानगरमा लामो समयदेखि औद्योगिक ग्राम घोषणा भए पनि त्यसको कार्यान्वयन हुन सकेको थिएन ।

    तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले बताए अनुसार उद्योग स्थापनापूर्व उद्योगका लागि पूर्वाधार विकास हुनुपर्ने छ । पूर्वाधार विकास नगरी व्यावसायिक कर छुट दिएर मात्र उद्योगीको आकर्षण हुँदैन ।  उद्योगीलाई आवश्यक पर्ने पूर्वाधारको विकास भएमा उद्योगीहरु उद्योग स्थापना गर्न आकर्षित हुने छन् । नीतिगत रूपमा व्यवस्था गरेर अगाडि बढ्दा सञ्चालनका लागि सहजता र प्रभावकारी हुने अध्यक्ष केसीले विश्वास व्यक्त गरे । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij