Logo

Jun 06 2025 | २०८२, जेठ २३गते

Jun 06 2025 | २०८२, जेठ २३गते

images

परिवर्तित मौसम अनुकूल हुने गरी कृषिको विकासमा जोड

परिवर्तित मौसम अनुकूल हुने गरी कृषिको विकासमा जोड

  • चितवन ।यहाँ आयोजित कार्यक्रममा सहभागी स्वदेशी तथा विदेशी विज्ञहरुले मौसम परिवर्तन  अनुकूल हुने गरी कृषिको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । 

    कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गतको अनुसन्धान प्रसार निर्देशनालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा वक्ताहरुले मौसम परिवर्तन कृषि क्षेत्रको विकासमा चुनौती रहेकोमा जोड दिनुभयो ।
    ‘इन्टरनेसनल कन्फ्रेन्स अन इकोलोजिकल इम्प्याक्ट अन एग्रिकल्चर, बिजनेस एण्ड टेक्नोलोजी’ विषयक गोष्ठीमा सहभागीले हिउँ पग्लिँदै जाँदा भूक्षय र पानीको अभावजस्ता समस्या बढ्दै गएको भन्दै यससँग जुध्न सक्ने गरी कृषि र प्रविधिको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
     
    कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा देवराज अधिकारीले मौसम परिवर्तनको चुनौतीलाई सम्बोधन गर्नेगरी अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हिमाल पग्लिँदै जानु, भूक्षय हुनुजस्ता कारणले अर्थतन्त्रमा ठूलो प्रभाव पारेको छ । नेपालका जलविद्युत् हिमालबाट बगेका नदीहरुमा निर्भर रहेकाले त्यसको असर विद्युत् उत्पादन हुँदै अर्थतन्त्रमा पर्ने छ ।”

    डा अधिकारीले विश्वविद्यालयले यस्ता समस्याबारे अध्ययन अनुसन्धान गरेर समाधानको बाटो पहिल्याउनु पर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “यस्ता कार्यक्रममा विश्वविद्यालय अनुदान आयोग सहयोग गर्न तयार छ ।”
     
    त्यसअवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा रमेशचन्द्र पौडेलले प्रकृति र विज्ञानमा आधारित भएर विकास गतिविधि अघि बढ्नुपर्ने बताउनुभयो । नेपालको शिक्षा नीतिमा परिवर्तन गरेर ७० प्रतिशत विद्यार्थीलाई प्राविधिक र ‘भोकेसनल’ शिक्षा दिने बनाउनुपर्ने उहाँको भनाइ छ । 

    कृषि तथा वन विज्ञान विश्वविद्यालय ९एएफयु० का उपकुलपति प्रा डा पुष्यप्रसाद रेग्मीले विश्वविद्यालयका विद्यार्थीलाई थप अनुसन्धानका लागि सहयोगको खाँचो औँल्याउनुभयो । कार्यक्रममा एएफयु सेवा आयोगका अध्यक्ष प्रा डा कल्याणी मिश्र त्रिपाठी, विश्वविद्यालयका रजिष्ट्रार प्रा डा शारदा थपलिया, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्र, डा गणेशराज जोशी, गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा डा नवराज देवकोटालगायतले सम्बोधन गर्नुभएको थियो ।
     
    यसैगरी एएफयुका डिनद्वय अर्जुन श्रेष्ठ, होमबहादुर बस्नेत र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, डा रामहरि तिमिल्सिना, महात्मा गान्धी चित्रकोट ग्रामोदय विश्वविद्यालयका अध्यक्ष प्रा डा डिपी राईलगायतले विषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो ।
     
    दुई दिनसम्म चल्ने सम्मेलनमा नेपाल, भारत, अमेरिका, इन्डोनेसीया, चीन र अष्ट्रेलियाका विज्ञ, प्राध्यापक र विद्यार्थीको सहभातिा रहेको छ । भारतका विभिन्न विश्वविद्यालय र संस्थाबाट एक सय जना प्रतिनिधि सम्मेलनमा सहभागी भएको एएफयुका निर्देशनालयका अनुसन्धान निर्देशक डा ऋषिराम कट्टेलले जानकारी दिनुभयो ।
     
    अमेरिका, इन्डोनेसीया, चीन, अष्ट्रेलियाबाट समेत विज्ञ, प्रध्यापक र विद्यार्थी उपस्थित भएर कार्यपत्र प्रस्तुत एवं छलफल हुँदैछ । एक सयभन्दा बढी विभिन्न विषयका कार्यपत्र प्रस्तुतीकरण र समूहगत छलफल गरिने कट्टेलले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij