Logo

Jun 08 2025 | २०८२, जेठ २५गते

Jun 08 2025 | २०८२, जेठ २५गते

images

अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गराउने बित्तिकै मुख्यसचिव आर्याल निलम्बित हुने

अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गराउने बित्तिकै मुख्यसचिव आर्याल निलम्बित हुने

  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको निष्कर्ष निकाली मुख्यसचिव डा. वैकुण्ठ अर्याल र अर्थ मन्त्रालयका कर्मचारी विरुद्ध मुद्दा चलाउने भएको छ ।आयोगका कर्मचारीहरूको एक टोली टंगालबाट बबरमहलस्थित विशेष अदालतमा मुद्दा दर्ता गराउन आइतबार निस्केका छन् । 

    आयोगका आयुक्तहरुको शुक्रबार बसेको बैठकले मुख्यसचिव अर्याल, आन्तरिक राजस्व विभागका तात्कालीन महानिर्देशक रितेश शाक्य लगायतमाथि मुद्दा चलाउने निर्णय गरे अनुसार कर्मचारीहरू निस्केको आयोग स्रोतले जनाएको छ ।आयोगले अदालतमा मुद्दा दर्ता गर्ने बित्तिकै मुख्य सचिव अर्याल निलम्बनमा पर्ने छन्।

    ४३ करोड ३२ लाख थान स्टिकर छपाइमा अनियमितता भएको भन्दै अख्तियारले अनुसन्धान गरेको थियो। मदिरामा प्रयोग हुने अन्तःशुल्क स्टिकर छपाइएको जिम्मा विभागले सुरक्षण मुद्रण केन्द्रलाई बिना प्रतिस्पर्धा दिएको थियो। त्यो बेला विभागका महानिर्देशक शाक्य थिए भने अर्याल सञ्चार सचिव थिए।

    केन्द्रको कार्यकारी निर्देशकमा विकल पौडेल थिए। पौडेलले स्वदेशी प्रिन्टिङ कम्पनी प्रिन्ट सेललाई अन्तःशुल्क छाप्न दिए। विभागले केन्द्रलाई प्रति स्टिकर ६० पैसामा छपाइ गर्न दिएकामा विकलले ८७ पैसामा छपाइ गर्न जिम्मा लगाएपछि अख्तियारमा उजुरी परेको थियो।

    केन्द्रले प्रिन्ट सेलसँग २०७९ मंसिरमा ३८ करोड ६७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी मोबिलाइजेसन पेस्कीबापत केही रकम भुक्तानीसमेत गरेको थियो।

    विभागको स्वीकृतिमा २०७९ असोजमा ४३ करोड थान स्टिकर छाप्न केन्द्रले ठेक्काको सूचना निकालेको थियो। क्लासी प्रिन्टिङ, एलाइड इन्टरनेसनल प्रालि र प्रिन्ट सेल गरी ३ कम्पनीको प्रस्ताव परेको थियो । ती मध्ये  दुई कम्पनी अयोग्य भएपछि प्रिन्ट सेलले ठेक्का पाएको थियो।

    विभागले २०७५ मा इन्डोनेसियाको सरकारी कम्पनी पेरम्पेररीलाई प्रति स्टिकर १५ पैसाका दरले छाप्ने गरी ४ अर्ब ९७ करोडको ठेक्का लगाएको थियो ।

    त्यस्तै, २०७८ भदौ २७ मा विभागले नै प्रति स्टिकर २५ पैसाका दरले १ करोड ८ लाख ८२ हजार ६ सय ७० अमेरिकी डलर (तत्कालीन दररेटअनुसार १ अर्ब २७ करोड रुपैयाँ)मा भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सलाई छपाइको जिम्मा दिएको थियो ।

    मुख्यसचिव अर्यालविरुद्ध टेरामक्स खरिद प्रकरणमा पनि अख्तियारले अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij