Logo

Oct 31 2025 | २०८२, कात्तिक १४गते

Oct 31 2025 | २०८२, कात्तिक १४गते

images

प्रधानमन्त्रीबाट महाकाली करिडोरबारे सदनलाई जानकारी

प्रधानमन्त्रीबाट महाकाली करिडोरबारे सदनलाई जानकारी

  • काठमाडौँ  ।प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली करिडोर आयोजनाअन्तर्गतको तुषारपानी–कोटेघर–टिङ्कर खण्डबारे सदनलाई जानकारी गराउनुभएको छ । सो खण्डको ८० प्रतिशत कडा चट्टान रहेको र विस्फोटक पदार्थको व्यवस्थापनको सहजता भई निर्माण कार्यमा कम समय लाग्ने तथा कार्यप्रगति छिटो हुने उद्देश्यका साथ नेपाली सेनाले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । 

    प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तरको क्रममा छुट्टै बजेट शीर्षकको सन्दर्भमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय (नेपाली सेना) बाट कार्यान्वयन भइरहेको तराई–मधेश द्रुतमार्गबाहेक अन्य कुनै पनि नेपाली सेनाले निर्माण गर्ने सडकमा छुट्टै बजेट उप–शीर्षक कायम भएको अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

    प्रधानमन्त्री ओलीले भन्नुभयो, “बजेट अभावका कारण कार्य प्रगतिमा कुनै कमी हुन नदिन नेपाली सेनाबाट माग भएबमोजिम नै विगतमा पनि बजेट व्यवस्थापन भइरहेको तथा भविष्यमासमेत बजेट कमी हुन नदिने विश्वास दिलाउन चाहन्छु ।” उहाँले सङ्घको कार्यक्षेत्र रहेका सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा सिँचाइ र नदी नियन्त्रणका कार्यहरु प्रभावकारी रुपले सम्पादन गर्न दार्चुलाबाट बैतडीको पाटनमा कार्यालय स्थानान्तरण गरिएको जानकारी दिनुभयो । 

    तटबन्ध निर्माण कार्यान्वयन एवं आवश्यक अनुगमन गर्न सम्पर्क कार्यालय र केही प्रविधिक दार्चुलामा पनि राखिएको उल्लेख गर्दै उहाँले बैतडीस्थित कार्यालयले पनि यससम्बन्धी कार्य गर्ने सदनलाई जानकारी गराउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij