
काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोरख शमशेर राणा नियुक्त गरेको छ । बैंक सञ्चालक समितिको बैठकले राणालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।राणाको नियुक्तिले यो बैंकको सीईओ बन्ने पहिलो नेपाली नागरिकको इतिहास कोरेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकमा स्ट्याण्डर्ड चार्टर्ड ग्रुपको ७०.२१ प्रतिशत विदेशी बैंकको शेयर स्वामित्व छ ।सन् १९८७ मा सञ्चालनमा आएको बैंकले विदेशी नागरिकलाई नै सीईओ बनाउँदै आएको थियो । यसपटक बैंकले नेपाली नागरिकलाई नै बैंकको व्यवस्थापकीय नेतृत्व दिने निर्णय गरेको हो ।
राणाले ग्रिनलेज बैंकबाट बैंकिङ करियर सुरु गरेका हुन् । ग्रिनलेज बैंकलाई स्ट्याण्डर्ड चार्टर्ड बैंकले किनेपछि उनी पनि स्ट्याण्डर्ड चार्टर्ड बैंकमा नै काम गर्दै आएका थिए । यसअघि उनी बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा कार्यरत थिए ।डीसीईओ हुँदा उनले प्रमुख कमर्सियल, कर्पोरेट र संस्थागत बैंकिङ्ग, ग्राहक कभरेजको जिम्मेवारी समेत सम्हालेका थिए । तीन दशक बढी बैंकिङ अनुभव प्राप्त राणाले एमबीएको शैक्षिक योग्यता पूरा गरेका छन् ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक तत्कालीन कम्पनी ऐन, २०२१ (संशोधन सहित) बमोजिम वि.सं २०४२ पुस ४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा नेपाल ग्रिण्डलेज बैंक लिमिटेडको नामबाट दर्ता भएको हो । तत्कालीन वाणिज्य बैंक ऐन, २०३१ अन्तर्गत नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृति पाएको यस बैंकले वि.सं २०४२ माघ २४ गतेदेखि सञ्चालनमा आएको हो ।तर, कम्पनी रजिष्ट्रारको कार्यालयको वि.सं २०५८ असार २६ गतेको निर्णयबाट साबिकको नेपाल ग्रिण्डलेज बैंक नाम परिवर्तन गरी स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रुपान्तरण भएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij