
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज मंसिर २५ मंगलबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
बेल्ट एन्ड रोड (बीआरआइ)सम्बन्धी नेपाल-चीन सम्झौताको पूर्णपाठ सार्वजनिक
काठमाडौं । मंसिर १७ गते प्रधानमन्त्री सहित चीन भ्रमणमा गएको नेपाली टोली र चीन सरकार बीच भएको बेल्ट एन्ड रोड (बीआरआइ) सम्झौता सार्वजनिक भएको छ । प्रायस् सार्वजनिक नगरी गोप्य राखिने नेपाल-चीन सम्झौताका दस्तावेज सार्वजनिक भएको सम्भवतः यो पहिलो पटक हो ।
नेपाल-चीन सम्झौताहरू सार्वजनिक नभएको भन्दै छिमेकी देश भारतसँगै मित्रराष्ट्र अमेरिकाले समेत पारदर्शी हुनुपर्ने बनाउँदै आएका थिए । गत आइतबार (मंसिर २३ गते) नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले समेत मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जस्तै पारदर्शी हुनपर्ने बताएका थिए । यही सन्दर्भमा यो सम्झौता सार्वजनिक हुनलाई विषेश महत्त्वका साथ हेरिएको छ ।
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकद्वारा सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय
काठमाडौँ ।सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउन सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको छ ।
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकले गरेको निर्णयअनुसार राष्ट्रिय समन्वय समितिका संयोजक कार्यदलको संयोजक रहनेछन् । सदस्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव, महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, अर्थ मन्त्रालयका सहसचिव, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक र वित्तीय जानकारी एकाइका प्रमुख रहने छन् । नेपाल राष्ट्र बैंकका निर्देशक कार्यदलको सदस्य सचिव रहने छन् ।
आर्थिक कूटनीतिलाई उच्च प्राथमिकता राख्न प्रस्तावित राजदूतहरुलाई परिसंघको आग्रह
काठमाडौँ । नेपाल उद्योग परिसङ्घले विभिन्न ११ देशका लागि प्रस्तावित राजदूतहरुसँग आर्थिक कूटनीतिमा केन्द्रित रहेर छलफल गरेको छ । सोमबार साँझ भएको छलफलमा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले कूटनीतिका माध्यमबाट आर्थिक सम्बन्ध विस्तारलाई पहिलो प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरुलाई आग्रह गर्नुभयो ।
नेपालमा लगानीकर्ताहरुलाई पूँजी परिचालनमा अभिप्रेरित गर्न, निर्यात प्रवद्र्धन गर्न देश केन्द्रित बेग्लै आर्थिक रणनीति बनाउनुपर्ने, विदेशी लगानीकर्ताका लागि सबै नेपाली राजदूतावासमा सम्पर्क व्यक्ति तोकिुनपर्नेमा अध्यक्ष अग्रवालले जोड दिनुभयो ।
नेपालको ‘कन्ट्री रेटिङ’ भइसकेको सन्दर्भमा लगानी भित्र्याउन त्यो सहयोगी बन्ने विश्वास व्यक्त गर्दै उहाँले सन् २०२६ मा मुलुक मध्यमआययुक्त विकासशील देशमा स्तरोन्नति हुने भएकाले अन्तर्राष्ट्रिय क्षेत्रबाट देशले पाउँदै आएको सुविधा नघट्ने वातावरण बनाउन उहाँले प्रस्तावित राजदूतहरूसँग आग्रह गर्नुभयो ।
शेयर बजार : नेप्से परिसूचकमा ६.३२ अंकले घटेर २६६९.८२ बिन्दुमा,४ अर्ब ४१ करोडभन्दा बढीको कारोबार
काठमाडौँ ।आज नेप्से परिसूचकमा ६.३२ अंकले घटेर २६६९.८२ बिन्दुमा आएको छ । आज ४ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये जम्मा ४ वटा समूहका सूचक बढेका छन् ।
यस दिन ३०३ कम्पनीको ८७ लाख ६८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १८ करोड ९६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा माइ हाइड्रोपावर र जानकी फाइनान्स कम्पनी रहेका छन् ।
सूर्योदय वोमी लघुवित्तले २० हजार कित्ता संस्थापक शेयर मंसिर २५ गतेदेखि निष्कासन गर्ने
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले २० हजार कित्ता संस्थापक शेयर मंसिर २५ गतेदेखि निष्कासनमा आएको छ ।
घनश्याम अधिकारीको नाममा रहेको शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन पाउने गरी निष्कासनमा आएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय महालक्ष्मी-०४, ललितपुरमा आवेदन पेश गर्नुपर्नेछ ।
सेन्चुरी इनर्जी लिमिटेडको ८.५ प्रतिशत नगद लाभांश घोषणा
काठमाडौं । आइपीओ निष्कासन तयारीमा रहेको सेन्चुरी इनर्जी लिमिटेडले लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको छ । सभा हुने स्थान र समय भने सूचनामा उल्लेख गरिएको छैन । सभामा कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ८.५ प्रतिशत नगद लाभांश ९कर सहित० प्रस्ताव पेश गर्नेछ ।
आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
आइसीएफसी फाइनान्सको ५.२६ प्रतिशत नगद लाभांश घोषणा
काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले गत वर्षको नाफाबाट ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समिति बैठकले कर सहित ५.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस फाइनान्सको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।
सानिमा माई हाइड्रोपावरक १०.५२ प्रतिशत बोनस सेयर घोषणा
काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले गत वर्षको नाफाबाट १०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले उक्त प्रस्ताव पारित गर्न पुस २८ गते साधारण सभा पनि बोलाएको छ ।
अर्विट इनर्जीको साधारण सभा पुस १७ गते ,आइपीओ जारी गर्ने
काठमाडौं । अर्विट इनर्जी लिमिटेडले आइपीओ प्रस्तावसहित पुस १७ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्ट्रार्ड कार्यालय, हाडिगाउँ, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको साधारण सभा मंसिर २८ गते , लाभांश पारित गर्ने प्रस्ताव
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश लगायतका प्रस्तावहरु पारित गर्न साधारण सभा आह्वान गरेको छ । सभा यही मंसिर २८ गते शुक्रबार बिहान ११ बजे दिनेश चौधरी स्मृति प्रतिष्ठान सुनसरीमा बस्ने भएको छ ।
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट १४% लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले १३।३०५ बोनस सेयर र कर प्रयोजनका लागि ०.७०% नगद गरी कुल १४% लाभांश वितरण गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते बुक क्लोज गरिसकेको छ ।
निजामती विधेयकमा भट्टराईको प्रस्ताव : कर्मचारीको अवकाश उमेर ६२ र ६५ वर्ष तोकौँ
काठमाडौँ ।नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको अवकाश उमेर बढाउन प्रस्ताव गर्नुभएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘सङ्घीय निजामती सेवा गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा उहाँले उपसचिवभन्दा माथिका कर्मचारीको अवकाश उमेर ६५ र उपसचिवभन्दा तलका कर्मचारीको अवकाश उमेर ६२ वर्ष कायम गर्न प्रस्ताव गर्नुभयो ।
सर्वोच्च अदालतद्वारा रास्वपाका नेताहरूलाई अपहेलना मुद्दामा लिखित जवाफ दिन आदेश
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारी एवं सांसदहरूलाई ‘अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने ?’ भनी जवाफ माग्ने आदेश गरेको छ ।सर्वोच्चले पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउपछिको प्रदर्शनका क्रममा भएका विषयप्रति परेको अवहेलनाको निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि यस्तो आदेश गरेको हो ।
प्रहरीले पक्राउ गरेको र अदालतको अनुमतिमा म्याद थप भइसकेको व्यक्तिलाई रिहा गराउन दबाबस्वरुप सडक आन्दोलन गरेकोमा प्रश्न उठाइ अवहेलनाको कारबाही हुनुपर्ने भनी अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।उक्त निवेदनको सनुवाइ पछि न्यायाधीशहरू विनोद शर्मा र महेश शर्मा पौडेलको इजलासले उनीहरूसँग ‘लिखित जवाफ माग्ने’ आदेश गरेको हो ।
नेपाल प्रिमियर लिग : कर्णाली याक्सको तेस्रो जित
काठमाडौँ । कर्णाली याक्ससँग पराजित भएसँगै नेपाल प्रिमियर लिग ९एनपीएल० मा पोखरा एभेन्जर्सको प्लेअफ सम्भावना केही कठिन बनेको छ।
मंगलबारको दोस्रो खेलमा पोखरा कर्णाली याक्ससँग ७ विकेटले पराजित भएको हो। एनपीएलको चार खेलमा पोखराले ३ खेलमा हार र १ खेलमा मात्र जित निकाल्दै २ अंकमा छ। पराजित पोखरा २ अंकमा छैटौँ स्थानमा छ।
तराई क्षेत्रमा बाक्लो हुस्सु, उडान प्रभावित
काठमाडौँ ।तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ । विराटनगर विमानस्थल अहिलेसम्म बन्द छभने जनकपुर विमानस्थल भर्खरै खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार तराई क्षेत्रका अधिकांश विमानस्थलको उडान प्रभावित भएको छ । केही विमानस्थलको उडान नै स्थगित गर्नुपरेको छभने कतिपय विमानस्थल ढिलो खुलेकाले उडान तालिका प्रभावित भएको छ । भद्रपुर, भरतपुर, पोखरा भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल अपराह्नपख मात्र खुलेका हुन् । प्रतिकूल मौसमका कारण विराटनगर विमानस्थलमा सोमबार पनि कुनै उडान हुन सकेनन् ।
नारायणगढ–बुटवल सडकः म्याद थपिएको चार महिनापछि विस्तारको काम सुरु
नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम म्याद थप भएको चार महिनापछि सुरु गरिएको छ । विसं २०७९ साउन २२ मा निर्माण सम्पन्न हुनुपर्ने यस योजनाको दोस्रोपटक थपिएको म्याद गत साउनमा सकिएको थियो ।
आगामी साउन ८ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी सरकारले म्याद थप गरेको आयोजनाले काम नै नगरी करिब साढे चार महिना बितायो । मनसुन, चाडपर्वलगायतका कारण देखाउँदै विस्तारको काम रोकेको निर्माण व्यवसायीले नोभेम्बर अन्तिम साताबाट विस्तारको काम सुरु गरेको हो । नारायणगढ–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार अहिले सडक विस्तारमा ३२३ श्रमिक परिचालन गरिएको छ ।
सिटिजन्स बैंकको अगुवाईमा ४१.०६ मेगावाटको संखुवाखोला जलविद्युत परियोजनाको वित्त व्यवस्थापन
काठमाडौँ । सिटिजन्स बैँक इन्टरनेसनल लि.को अगुवाईमा एभरेष्ट बैंक लि., नेपाल एस.बि.आइ बैंक लि. र सानिमा बैँक लि. सहित ४ बैँकहरुले रु. ६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी ४१.०६ मेगावाट क्षमताको संखुवाखोला जलविद्युत परियोजना आउने भएको छ । आज मिति २०८१ मंसिर २४ गते सोमबारको दिन प्रवद्र्धक कम्पनी गुरा¤स हाईड्रो लिमिटेड एवं लगानीकर्ता बैँकहरु बीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको छ । उक्त परियोजना कोशी प्रदेश, संखुवासभा जिल्ला, सिलिचोङ गाँउपालिका र भोजपुर जिल्ला, साल्पा सिलिचाछो गाँउपालिकमा निर्माण हुनेछ ।
परियोजनाको अनुमानित लागत करीब रु. ८ अर्ब २० करोड मध्ये बैंकहरुले ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा रु. ६ अर्ब १५ करोड बराबरको ऋण लगानी गर्नेछन् ।
एडीबी र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीद्वारा सेती नदी जलविद्युत आयोजना समयमै सक्न सम्बद्ध पक्षलाई आग्रह
काठमाडौँ । एसियाली विकास बैंक (एडीबी)का प्रतिनिधिहरूसम्मिलित नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँस्थित सेती नदीमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गरेको छ ।एडीबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा र प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ सम्मिलित टोलीले सोमबार आयोजनाको स्थलगत अनुगमन गरेको हो ।
टोलीले प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो मुख्य बाँध निर्माण, प्याकेज–२ अन्तर्गत भूमिगत विद्युतगृह, हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरणहरू, मुख्य सुरुङ निर्माणस्थलको अनुगमन गरी कार्यप्रगति विषयमा जानकारी लियो ।कम्पनी तथा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीहरूसँग विस्तृत रूपमा छलफल गरी टोलीले निर्माण प्रगति, आयोजनाका समस्या, निर्माण तालिकालगायत विषयमा जानकारी लिएको थियो ।
सुनको मूल्य प्रतितोला दुई हजार एक सय बढ्यो
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन रू दुई हजार एक सय बढेको छ । सोमबार प्रतितोला रू एक लाख ५० हजार एक सयमा कारोबार भएको पहेँलो धातु आज बजार खुल्दा रू एक लाख ५२ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मूल्य प्रतितोला रू ६० ले बढेर रू एक हजार नौ सय २५ कायम भएको छ ।
काठमाडौँ महानगरपालिकाले स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम सञ्चालन गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा भएका स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले कोसेली घर कार्यक्रम सञ्चालन गर्ने भएको छ । ‘एक वडा, एक नमूना’ कार्यक्रमअन्तर्गत ३२ वटै वडामा उत्पादन भएका फरक–फरक उत्पादनका आधारमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको महानगरपालिकाका सामाजिक विकास विभाग प्रमुख समीक्षा निरौलालाले जानकारी दिनुभयो । प्रत्येक वडामा उत्पादन भएका सामग्रीलाई कोसेली घरमा जम्मा गर्ने र सोहीमार्फत बिक्री गर्नेगरी उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यसका लागि महानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु पाँच लाख विनियोजना गरेको छ ।
गोरख शमशेर राणा स्टयाण्डर्ड चार्टर्ड बैंकका पहिला प्रमुख कार्यकारी बने
काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोरख शमशेर राणा नियुक्त गरेको छ । बैंक सञ्चालक समितिको बैठकले राणालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।राणाको नियुक्तिले यो बैंकको सीईओ बन्ने पहिलो नेपाली नागरिकको इतिहास कोरेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकमा स्ट्याण्डर्ड चार्टर्ड ग्रुपको ७०.२१ प्रतिशत विदेशी बैंकको शेयर स्वामित्व छ ।सन् १९८७ मा सञ्चालनमा आएको बैंकले विदेशी नागरिकलाई नै सीईओ बनाउँदै आएको थियो । यसपटक बैंकले नेपाली नागरिकलाई नै बैंकको व्यवस्थापकीय नेतृत्व दिने निर्णय गरेको हो ।
मलेसिया रोजगारी पुन सुचारु, मलेसियाद्वारा मेडिकलमा भएको सिन्डिकेट रद्द ,मलेसियन दूतावासद्वारा १७८० को मागपत्र अनलाइन
काठमाडौ ।मलेसिया,लामो अन्योलता र लामो समयपछि मलेसिया रोजगारी पुन खुला भएको छ । मलेसियास्थित नेपाली दूतावासले शुक्रवार र सोमवार फेल्डा प्लान्टेसनलगाएत विभिन्न प्लान्टेसन र अन्य कम्पनीहरुको १७८० मागपत्र अनलाइन गरेपछि मलेसिया रोजगार खुला भएको हो । दुई देशबीच अक्टोबर २९, २०१८ मा श्रम समझदारी कार्यान्वयन गर्ने सहमति पछि मलेसिया खुल्ने र बन्द हुने क्रम जारी रहेको थियो ।
अब मलेसियन रोजगारदाताले आफूलाई आवश्यक परेको कामदारका लागि नेपाली दूतावासमा मागपत्र पेश गर्न सक्ने दूतावासले बताएको छ ।
घिसिङद्वारा एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको अनुगमन
दमौली ।नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सोमबार अनुगमन गर्नुभएको छ ।
ऋषिङ गाउँपालिकामा निर्माणाधीन आयोजनाको निर्देशक घिसिङले स्थलगत अनुगमन गरी कामको प्रगति र समस्याका बारेमा जानकारी लिनुभएको हो । अनुगमनका क्रममा उहाँले आयोजनाको कामलाई निर्धारित समयमा सक्नेगरी तीव्रता दिन आग्रह गर्नुभयो ।
कार्यकारी निर्देशक घिसिङलाई तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले भौतिक तथा आर्थिक प्रगतिबारे जानकारी गराउनुभएको थियो ।
देशभर पश्चिमी वायुको प्रभाव
काठमाडौ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यही प्रभावले कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij