
मोरङ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले हुलाक सेवाको आधुनिकीकरण जरुरी भएको बताउनुभएको छ । हुलाक सेवा विभागद्वारा आज विराटनगरमा आयोजना गरेको हुलाक सेवा विभागको पुनसंंरचना विषयक अन्तरक्रियामा उहाँले राणाशासनमा स्थापना भएको हुलाक सेवाको आधुनिकीकरण गरी सेवा प्रवाह राम्रो बनाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री गुरुङले भन्नुभयो, “बदलिँदो परिवेशअनुसार संस्था चल्नुपर्छ, हुलाकलाई जनताको सेवामा प्रयोग गर्नुपर्छ, सेवासँगै व्यापार गर्न जरुरी छ ।” उहाँले हुलाक सेवालाई व्यवस्थित गर्न वार्षिक क्यालेन्डरअनुसार काम गर्न सुझाव समेत दिनुभयो । उहाँले हुलाक सेवालाई प्रविधिमैत्री बनाउन सरकारले सहयोग गर्ने समेत उल्लेख गर्नुभयो । मन्त्री गुरुङले हुलाकलाई विश्वसनीय बनाउनुपर्नेमा जोड दिँदै दु्रत गति कुरियर सेवा विश्वका १९३ वटै देशमा पु¥याउन आवश्यक रहेको बताउनुभयो ।
मन्त्री गुरुङले इकमर्शका माध्यमबाट जनतासेवा दिनमा ध्यान केन्द्रित राख्नुपर्ने सुझाव दिँदै हुलाकले व्यवसायका विस्तार गरी आत्मनिर्भर हुनुपर्ने टिप्पणी गर्नुभयो । सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले हुलाक सेवालाई विविधिकरण गरी व्यवसायीकरण गर्नु जरुरी रहेको धारणा राख्नुभयो । उहाँले हुलाक सेवाको पुनःसंरचना आवश्यक भएको बताउनुभयो । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले हुलाक सेवालाई नयाँ उचाइमा पुर्याउनु आवश्यक भएको बताउँदै यसलाई व्यवसायीकरण गरी आत्मनिर्भर बनाउनु पर्ने आवश्यकता औँल्याउनुभयो । विभागकी महानिर्देशक मनमाया भट्टराई पङ्गेनी, जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वजर राईलगायतले हुलाक सेवालाई भरपर्दो र विश्वसनीय र व्यापारमा विविधिकरण गर्न पुनःसंरचना जरुरी रहेको सुझाव दिनुभयो । कार्यक्रममा प्रदेशका विभिन्न हुलाक कार्यालय, विभिन्न संगठनका प्रतिनिधिहरुको सहभागिता थियो । ---
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij