 
                                
                             
                                                            काठमाडौं ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी र स्थानीय वायुको प्रभाव रहेको र मौसम सामान्यतया बदली रहने जनाएको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड तथा तराईका केही भूभाग र मधेस प्रदेशसहितका स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी तराई, कर्णाली र बागमतीका पहाडी क्षेत्रमा भने भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहने र कोशी, गण्डकी, लुम्बिनी, मधेस तथा बागमती प्रदेशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज २० गतेसम्म अत्यावश्यक काम बाहेक लामो यात्रा नगर्न आग्रह गरेको छ। बागमती, कमला र कोशी नदीमा पानीको बहाव खतरा तहमा पुग्न सक्ने अनुमान गरिएको हुँदा उच्च सतर्कता अपनाउन सुझाव दिइएको छ।
प्राधिकरणका अनुसार काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, सङ्खुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्लामा साना नदी तथा खोल्सामा आकस्मिक बहावको उच्च सम्भावना रहेको छ। त्यसैले प्रभावित क्षेत्रका नागरिकलाई सतर्क रहन अनुरोध गरिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij