काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष राष्ट्रपति चुनावका क्रममा अमेरिकालाई महान बनाउने वाचा गरेका थिए । चुनाव जितेपछि उनले विश्वका अधिकांश देशमाथि उच्च ट्यारिफ (शुल्क) लगाइदिए । तर अब यसको असर अमेरिकामै परिरहेको देखिन्छ ।नोभेम्बर महिनामा अमेरिकाको म्यान्युफ्याक्चरिङ क्षेत्र (सामान उत्पादन) सुस्त भयो । यो पछिल्ला चार महिनामध्ये सबैभन्दा कम हो । यसको मुख्य कारण बढ्दो ट्यारिफ हो, जसले वस्तुहरू महंगा बनायो र उपभोक्ताले खरीद कम गरे । यसले अमेरिकामा मन्दीजस्तै अवस्था निम्त्याएको छ ।
रोयटर्सका अनुसार यस अवस्थाकै कारण बजारमा नबिकेका वस्तुको थुप्रो लाग्दै गएको छ, जसले देशको समग्र आर्थिक वृद्धि सुस्त हुने डर बढाएको छ ।एसएन्डपी ग्लोबलका अनुसार अमेरिकाको म्यान्युफ्याक्चरिङ पीएमआई (पर्चेजिङ मेनेजर्स इन्डेक्स) अक्टोबरमा ५२.५ बाट घटेर नोभेम्बरमा ५१.९ पुगेको छ । नयाँ अर्डरमा ठूलो गिरावट आएको छ भने तयार वस्तुको स्टक ऐतिहासिक स्तरमा पुगेको छ ।
एसएन्डपी ग्लोबल इन्टेलिजेन्सका क्रिस विलियमसनका अनुसार म्यान्युफ्याक्चररहरू नयाँ अर्डरको सुस्त वृद्धि र स्टक बढ्दो स्तरका कारण चिन्तामा छन् । उनले यदि माग फेरि बढेन भने उत्पादन झनै कमजोर हुनसक्ने चेतावनी दिए ।
रोयटर्सका अनुसार उपभोक्ताहरू अब लामो समय चल्ने म्यान्युफ्याक्चरिङ वस्तु किन्न हिच्किचाइरहेका छन् । युनिभर्सिटी अफ मिशिगनले गरेको सर्वेक्षणमा खरीद गर्ने क्षमतामा ठूलो गिरावट देखिएको छ । सर्भेले उपभोक्ताहरू महँंगो मूल्य र घट्दो आम्दानीबाट निरन्तर दबाबमा रहेको बतायो । ट्यारिफले आयात खर्च बढाएकाले न्यून र मध्यम आय भएका परिवारमाथि थप बोझ परिरहेको उल्लेख छ ।
हालै सेयर बजारमा आएको गिरावटले खर्चमा अगाडि रहने धनी अमेरिकीहरूको भरोसामा पनि धक्का पुगेको छ । अर्थशास्त्री सुंग वोन सोनका अनुसार कम आय वर्गले खर्च बढाउने सम्भावना छैन । साथै बजारको अनिश्चितताले धनी वर्गको खर्च पनि घटाउनेछ, विशेष गरी अवकाशप्राप्त नागरिकहरूको ।
फ्याक्ट्री क्षेत्र सुस्त भए पनि समग्र व्यवसायिक गतिविधि भने बलियो देखिएको छ । अमेरिकाको कम्पोजिट पीएमआई आउटपुट इन्डेक्स ५४.८ मा पुगेको छ, जसलाई सेवा क्षेत्रले मजबुत बनाएको हो । सेवा क्षेत्रको पीएमआई ५५.० मा पुगेको रोयटर्सले जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij