Logo

Nov 26 2025 | २०८२, मंसिर १०गते

Nov 26 2025 | २०८२, मंसिर १०गते

images

महावाणिज्य दूतावास कोलकताको क्षेत्राधिकार सीमित हुँदा समन्वयमा समस्या

महावाणिज्य दूतावास कोलकताको क्षेत्राधिकार सीमित हुँदा समन्वयमा समस्या

  • कोलकता (भारत)। नेपालका आयातकर्ताले भारतको कोलकता र हल्दिया पोर्टबाट स्थलमार्ग हुँदै कन्टेनरमा समान ओसार्दा भारतको झारखण्ड र विहार राज्यमा विभिन्न समस्या झेल्दै आइरहेका छन् । तेस्रो मुलुकबाट समुन्द्रीमार्ग हुँदै आयात भएका सामान वीरगञ्जमा रेल्वे¥याक वा ट्रक/कन्टेनरमा ढुवानी गरेर ल्याउने गरिन्छ । नेपालका आयातकर्ताले स्थलमार्ग हुँदै ल्याउने सामानमा विशेष गरी झारखण्ड र विहार राज्यका प्रहरीलाई अत्यधिक भारवाहन र कन्टेनरको उचाइ बढी भएपछि जरिवाना तिर्नुपर्नेलगायत समस्या रहेका छन् । वीरगञ्जका उद्योगी/व्यवसायीले पनि स्थलमार्ग हुँदै मालवाहक सवारीसाधन ल्याउँदा विभिन्न ठाउँमा उल्झान बेहोर्नुपरेको गुनासो गर्दै आइरहेका छन् । नेपाल कार्र्गाे ह्यान्डिलिङ एजेन्ट एसोसिएसन कोेलकाताका सचिव महेन्द्रकुमार दुगडले कोलकता हुँदै वीरगञ्ज भन्सार कार्यालयसँग मालवाहक ट्रक ढुवानी गर्दा विहार र झारखण्ड राज्यमा भारतीय प्रहरीबाट झन्झट बेहोर्नुपरेको गुनासो गर्नुभयो ।

    “स्थलमार्गबाट मालवाहक सामान लैजाँदा भारतको झारखण्ड र विहारमा प्रहरीबाट विभिन्न किसिमका दण्ड जरिवाना लगाउने प्रवृत्तिको अन्त्य हुन जरुरी देखिएको छ”, उहाँले भन्नुभयो, “कहिले मालवाहक ट्रकको तौल बढी भयो, कहिले कन्टेनरको उचाइ बढी भयो भन्दै विभिन्न बाहाना बनाएर कारबाहीमा पर्ने गरेका छन् । त्यस्ता खालका समस्या समाधान हुन जरुरी छ ।” नेपाली महावाणिज्य दूतावास कोलकताका महावाणिज्यदूत झक्कप्रसाद आचार्यले नेपालका व्यापारी तथा व्यवसायीको ट्रक र कन्टेनरमार्फत मालसमान ढुवानी गर्दा भारतको झारखण्ड र विहार राज्यमा बेलाबखत समस्या भोग्नुपरेको गुनासो आइरहेको बताउनुभयो । “नेपालका व्यापारीले स्थलमार्ग हुँदै समान ढुवानी गर्न झारखण्ड र विहार राज्यमा मालवाहक सवारीसाधनको तौल बढी भएको तथा उचाइ बढी भएका गुनासा आइरहेका छन्”, उहाँले भन्नुभयो, “महावाणिज्य दूतावासलाई भारतको पश्चिम बङ्गाल राज्यभित्रको मात्रै क्षेत्राधिकार तोकिएकाले पनि फरक राज्यमा समन्वय र सहकार्य गर्न अप्ठेरो भइरहेको छ ।

    यद्यपि हामीले आफ्नोतर्फबाट गर्नुपर्ने समन्वय गरिरहेका छौँ ।” नेपालले तेस्रो मुलुकबाट आयात गर्ने सामान समुद्रीमार्ग हुँदै कोलकता र हल्दिया पोर्ट हुँदै स्थलमार्गबाट करिब ८०० किलोमिटरको दूरीमा रहेको छ । त्यस्तै ती दुवै पोर्टबाट रेल्वे¥याकबाट पनि मालसामान ढुवानी गर्न सकिन्छ । महावाणिज्यदूत आचार्यले नेपालका लागि विश्वभरबाट समुद्रीमार्ग हुँदै आउने आयातित वस्तुहरू सहज रूपमा ढुवानी गर्न महावाणिज्य दूतावासले व्यापारमा सहजीकरण गर्दै आइरहेको बताउनुभयो । “तेस्रो मुलुकबाट समुद्रीमार्ग हुँदै आउने तथा कोलकाता र हल्दिया बन्दरगाह हुँदै आउने सामानलाई सहजीकरण मात्रै नभएर आवश्यक समन्वय पनि गर्दै आइरहेका छौँ”, उहाँले भन्नुभयो, “कोलकतास्थित भारतीय निकायसँग समन्वय र सहकार्य गरेर नेपाली आयातकर्ताको सामान सहज र प्रभावकारी रूपले व्यवस्थापन गर्ने प्रयत्न गर्दै आइरहेका छौँ ।” कोलकता पोर्ट हुँदै ६० प्रतिशत मालवाहक सामान रेल्वे¥याकमार्फत कन्टेनर ल्याइन्छ भने ४० प्रतिशत मालवाहक सामान ट्रकमा ओसार्ने गरिन्छ ।

    महावाणिज्यदूत आचार्यले कोलकता महावाणिज्य दूतावासको क्षेत्राधिकार झारखण्ड, विहार र आन्द्रा प्रदेशमा अवस्थित विशाखापट्नमसम्म वृद्धि गर्न आवश्यक भएको बताउनुभयो । अहिले विशाखापट्नम बन्दरगाहको व्यापार सहजीकरणको काम भने दिल्लीमा अवस्थित नेपाली राजदूतावासले हेर्दै आइरहेको छ । कोलकताबाट विशाखापट्नम बन्दरगाह एक हजार किलोमिटरको दूरीमा अवस्थित छ भने दिल्लीबाट सो बन्दगाह करिब दुई हजार किमी टाढा पर्दछ । कोलकतास्थित महावाणिज्य दूतावासको एक अध्ययनअनुसार कोलकता पोर्ट हुँदै करिब ८० प्रतिशत मालवाहक सामान वीरगञ्ज नाका भित्रिने गर्छन् । ---

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij