Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असोज १० बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू.........

नयाँसडक बुलेटिन : यस्ता छन् असोज १० बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू.........

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असोज १० बिहीबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    अरुण काबेली पावरको साधारण सभा कात्तिक ४ गते ,  शतप्रतिशत हकप्रद शेयर जारी गर्ने

    काठमाडौं । अरुण काबेली पावर लिमिटेडले १४औं वार्षिक साधारण सभा कात्तिक ४ गते गर्ने भएको छ । कम्पनीको असोज १० गते दिउँसो ३ः१५ मा बसेको सञ्चालक समितिको बैठकले काठमाडौं गौशालास्थित होटल क्रिष्टल पशुपतिमा सभा गर्ने निर्णय गरेको हो । सभा बिहान ११ बजे देखि शुरु हुनेछ । 

     

    गत आर्थिक वर्ष (आव)को मुनाफाबाट यस वर्ष कम्पनीले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

    काठमाडौँ–तराईरमधेस द्रुततमार्ग सडक आयोजनाद्वारा वार्षिक जर्नलको चौथो संस्करण प्रकाशन

    काठमाडौँ ।काठमाडौँ–तराईरमधेस द्रुतमार्ग सडक आयोजनाको वार्षिक जर्नल, चौथो संस्करण प्रकाशन भएको छ । नेपाली सेनाको जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति, महारथी अशोकराज सिग्देलले उक्त जर्नलको विमोचन गर्नुभयो ।  
    राष्ट्रिय गौरव एवं रणनैतिक महत्त्व बोकेको यस आयोजनाको वार्षिक रूपमा प्रकाशन हुँदै आइरहेको जर्नलको चौथो संस्करणमा आयोजनासम्बन्धी हालसम्मको प्रगति, चुनौती र समाधानका लागि चालिएका कदम एवं भविष्यका कार्ययोजनाहरूसँग सम्बन्धित शोध समावेश गरिएको छ ।

    शोधनान्तर स्थिती ४० अर्ब ९० करोडले बचतमा

    काठमाडौँ ।  चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् गत साउनमा शोधनान्तर स्थिति रु ४० अर्ब ९० करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

     

    सो बैंकले आज सार्वजनिक गरेको विवरण अनुसार, शोधनान्तर स्थिती बचतमा रहेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु ३६ अर्ब ४३ करोडले बचतमा रहेको थियो । यस्तै, चालु खाता रु ३० अर्ब ८९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु १३ अर्ब ३७ करोडले बचतमा रहेको थियो ।

    समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु २२ करोड ३२ लाख कायम भएको छ भने प्रत्यक्ष वैदेशिक पुँजी लगानी आप्रवाह रु ७९ करोड ९८ लाख रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर रु २७ करोड २६ लाख कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटि मात्र) रु दुई अर्ब ६५ करोड रहेको थियो ।

    सानिमा रिलाइन्स लाइफ र साहस उर्जा लिमिटेडको शेयर मूल्य नेप्सेमा समायोजन

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा बिहीवारसानिमा रिलाइन्स लाइफ र साहस उर्जा लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।

     

    नेप्सेले साहस उर्जाको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू ४७९ दशमलव १७ कायम भएको छ । नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
    सानिमा रिलायन्स लाइफको १८ दशमलव ३८११ प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो ।

    ग्रीन डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको १ लाख ९७ हजार २२० कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस बैंकले सेयरधनीलाई वितरण गरेको ३.८० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

    देशभित्र विदेशी मुद्राको सञ्चिति करिब रु २१ खर्ब पुग्यो

    काठमाडौँ ।देशभित्र विदेशी मुद्राको सञ्चिति करिब रु २१ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको विवरण अनुसार कुल विदेशी मुद्राको सञ्चिति रु २० खर्ब ९२ अर्ब २२ करोड पुगेको हो । यो विवरण गत साउन मसान्तसम्मको हो ।

     

    गत असार मसान्तमा कुल विदेशी मुद्राको सञ्चिति रु २० खर्ब ४१ अर्ब १० करोड बराबर थियो । त्यसमा दुई दशमलव पाँच प्रतिशतले वृद्धि भई रु २० खर्ब ९२ अर्ब २२ करोड बराबर पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा गत साउन मसान्तसम्म आइपुग्दा दुई प्रतिशतले वृद्धि भई १५ अर्ब ५८ करोड बराबर पुगेको छ ।

    ‘रेड नोटिस’ जारी गरिएका तीन जनालाई दुबईबाट पक्राउ गरी ल्याइयो

    काठमाडौँ । नेपाल प्रहरीले ठगीसम्बन्धी कसूरको मुद्दा र जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका तीन जना फरार प्रतिवादीलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याएको छ ।

     

    यसरी पक्राउ पर्नेमा ठगीसम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पाँचथर मिक्लाजुङ गाउँपालिका–४ ठेगाना भएका ४२ वर्षीया भुपेन्द्र बोहोरा र काठमाडौँ नागार्जुन नगरपालिका–९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी रहेका प्रहरीले जनाएको छ । 

     

    जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दाका फरार प्रतिवादी मकवानपुर ईन्द्रसरोवर गाउँपालिका–५ घर भई हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका–१० बस्ने २६ वर्षीय रोमन कार्की रहेका छन् । उनीहरूलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ काठमाडौँ ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    शेयर बजार : नेप्से परिसूचकमा ३२.८१ अंकले घटेर २४८६.७६ बिन्दुमा, ४ अर्ब ८४ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा ३२.८१ अंकले घटेर २४८६.७६ बिन्दुमा आएको छ । आज ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

     

    आज इन्डेक्ससँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । 

    यस दिन ३२२ कम्पनीको १ करोड ३६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । 

    अपि पावरको सबैभन्दा धेरै ४७ करोड ९९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    रेमिटेन्स आप्रवाह १८ प्रतिशतले वृद्धि, साउनमा भित्रियो १ खर्ब ३६ अर्ब

    काठमाडौं ।  चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना साउनमा रेमिटेन्स आप्रवाह बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार विप्रेषण आप्रवाह १८ प्रतिशतले वृद्धि भइ १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो। 

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो। 

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको छ ।

    तनहुँ जलविद्युत् आयोजनाः निर्माणका क्रममा क्षति भएकालाई क्षतिपूर्ति वितरण गरिने

    दमौली । तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएका घरलाई क्षतिपूर्ति वितरण गरिने भएको छ । 

     

    निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको चरण–१ अन्तर्गत संरचना निर्माणका लागि विस्फोट गर्दा सो आसपासका घर तथा भौतिक संरचनामा पुगेको क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्ति वितरण गर्न लागिएको हो । 

     

    क्षतिको असर र मूल्याङ्कन गरी क्षतिपूर्ति रकम सिफारिस गर्न तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीको संयोजकत्वमा गठित उपसमितिको बैठक सम्पन्न भएसँगै सङ्कलन भएका विवरणअनुसार मूल्याङ्कन थालिएको जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।

    अपि पावरको लाभांश विद्युत नियमन आयोगद्वारा अस्वीकृत

    काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले प्रस्ताव गरेको यस वर्षको लाभांश विद्युत नियमन आयोगले अस्वीकृत गरेको छ । विद्युत नियमन आयोगले असोज ६ गते कम्पनीलाई यस वर्षको लाभांश वितरणका लागि स्वीकृति दिन नमिल्ने निर्णय गर्दै जत्र पठाएको हो । 

     

    नियमन आयोगका अनुसार  कम्पनीले आर्थिक वर्ष ०८०/८१ को वित्तीय विवरण नेपाल लेखा प्रतिवेदन माग अनुरूप तयार पारिएको र सो लेखा प्रतिवेदन मानमा कम्पनीको स्वामित्वमा रहेको वित्तीय उपकरण तथा लगानीलाई बजार मूल्यमा प्रस्तुत गरेको साथै बजार मूल्यको थपघटलाई नाफा नोक्सान हिसाब अथवा अन्य विस्तृत आम्दानीमा लेखाङ्कन गरेको देखिन्छ । जुन कार्य कम्पनी ऐन , २०६३ को दफा ५६ को उपदफा (१०) ले वर्जित गरेको भन्दै स्वीकृति दिन नमिल्ने भनाई आयोगको छ ।

    आज दुई कम्पनी र चार म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने  अन्तिम दिन

    काठमाडौं । आज दुई कम्पनी र चार म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। 
    सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली र साहस उर्जा असोज १३ गते, आइतबार बुकक्लोज गर्दैछ। यस अनुसार यी स्टकहरुको बुकक्लोज अघिको अन्तिम कारोबार दिन हो।
    एनएमबि ५० ले इकाईधनीहरुलाई करसहित १५ प्रतिशतका दरले र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ले करसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
    ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले त आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई करसहित ५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ भने नबिल ब्यालेन्स्ड फण्ड २ ले करसहित ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    मन्दाकिनी हाइड्रोपावरको बोनस सेयर घोषणा

    काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले गत वर्षको नाफाबाट ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको असोज ९ गते बसेको सञ्चालक समिति बैठकले ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद दिने निर्णय गरेको हो । उक्त प्रस्ताव यस कम्पनीको आगामी साधारण सभाबाट स्वीकृति भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

    हिमालयन लाइफको ७९ हजार ३९२ कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । हिमालयन लाइफ इन्सुरेन्सले ७९ हजार ३९२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौं आवेदन दिनुपर्नेछ ।

    अन्तत: धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्यो

    काठमाडौं । सरकारले धितोपत्र बोर्ड ९सेबोन० ले अध्यक्ष छनोट प्रक्रिया अघि बढाएको छ । बिहीबार बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनालाई अन्तर्वार्ताका लागि बोलाएको हो ।सिफारिस समितिका अनुसार कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा। नवराज अधिकारीलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि बोलाएको हो । सर्टलिस्टमा परेका ३ जनाको आगामी असोज १८ गते बिहान ८ बजे अर्थ मन्त्रालयमा प्रस्तुतिकरण हुनेछ ।

     

    बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रियामा विवाद सिर्जना भएपछि रोकिएको थियो । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका पाँच जनालाई कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर, सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कार्की र बीमा समितिका पूर्वअध्यक्ष चापागाईं अनुपस्थित भएका थिए ।

     

    नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र पनि शेयर जस्तै किनबेच गर्न पाइने

    काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आन्तरिक ऋण (निष्कासन तथा व्यवस्थापन) कार्यविधि, २०८१ जारी गर्दै नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र पनि दोस्रो बजारमा कारोबार गर्न सकिने व्यवस्था गरेको छ । यससँगै अब पुँजीबजारमा हुने शेयर कारोबार जस्तै बचतपत्र पनि खरिदबिक्री गर्न सकिने व्यवस्था कार्यान्वयनमा आएको हो ।

     

    नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार ‘ऋण सञ्चालन तथा व्यवस्थापन सफ्टवेयर (डोम्स)’ र इन्भेष्टर पोर्टलमार्फत् गर्न सकिने व्यवस्था कार्यविधिमा राखिएको छ । धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सञ्चालनमा ल्याएको अनलाईन कारोबार प्रणाली जस्तै नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्र वा अन्य खालका ऋणपत्रको निष्कासन तथा सञ्चालनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘डोम्स’ र ‘इन्भेष्टर पोर्टल’ कार्यान्वयनमा ल्याएको हो ।

    आजको विनिमयदर : अमेरिकी डलर घट्दा युरोको मूल्य बढ्यो

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलर र पाउण्ड स्ट्रलिङको मूल्य घटेको छ भने युरोको मूल्य बढेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १८ पैसा रहेको थियो । आज अमेरिकी डलर एकको खरिददर रु एक सय ३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ छ पैसा रहेको छ ।

     

    आजको विनिमयदरअनुसार युरोपियन युरोको मूल्य बढेको छ । युरो आज एकको खरिददर एक सय ४९ रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ९४ पैसा कायम भएको छ । बुधबार नेपाली बजारमा युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ २८ पैसा थियो ।

    सुनको भाउ नयाँ रेकर्ड कायम,  प्रतितोला १ लाख ६० हजार ७०० रुपैयाँ

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको छ । 

     

    आज चाँदीको भाउ भने स्थिर रहेको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १९ सय ५५ रुपैयाँ कायम रहेको छ । 
     बुधबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको थियो ।

    शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन सरकारको आग्रह

    काठमाडौं । शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन सरकारले आग्रह गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि (११ र १२ गते) रात्रिकालीन बस नचलाउन अनुरोध गरेको हो ।

     

    जल तथा मौसम विज्ञान विभागले आजदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम रहेको भन्दै चेतावनी दिएपछि प्राधिकरणले यस्तो अनुरोध गरेको हो । त्यसैले, मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णय अनुसार वर्षाको रातको  समयमा यात्रा गर्दा पहिरो तथा बाढीको जोखिमका रहेका हिमाली तथा पहाडी जिल्लाहरुमा भोलि र पर्सि रात्रिकालीन बस नचलाउन सुझाव दिइएको हो ।

    दूधकोसीमा बेपत्ता युवक नभेटिएपछि गोताखोर टोली फर्कियो

    खोटाङ । माछा मार्ने क्रममा दूधकोसीमा बगेर बेपत्ता बनेका युवक नभेटिएपछि सशस्त्र प्रहरीको गोताखोर टोली फर्किएको छ । यही असोज ६ गते चप्पल फुस्किएर बगाएपछि समात्न खोज्दा चिप्लिएर दूधकोसीमा बगेर बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारका १८ वर्षीय घनश्याम पुलामीमगर फेला नपरेपछि गोताखोरको टोली फर्किएको हो । 

     

    मगर मङ्गलटारमै पर्ने कुखुरेबेँसीबाट बेपत्ता भएका थिए । बेपत्ता भएका मगरलाई स्थानीयवासी र प्रहरीले फेला नपारेपछि सशस्त्र प्रहरीको १ नम्बर बराह बाहिनी पोकली, सुनसरीबाट असोज ८ गते गोताखोर टोली आएको थियो ।

    साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता कार्यान्वयन गर्न सरकारको निर्देशन

    काठमाडौँ ।  वर्तमान सरकारको साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धतालाई कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयले सर्कुलर जारी गरेको छ । मन्त्रालय र मातहतका निकायलाई उक्त प्रतिबद्धता वार्षिक कार्यक्रममा समावेश गरी कार्यान्वयन गर्न निर्देशन दिइएको हो । 

     

    यही असोज २ गतेको मन्त्रिपरिषद् बैठकले उक्त साझा सङ्कल्प पारित गरी कार्यान्वनय गर्न नेपाल सरकार ९कार्यसम्पादन० नियमावली, २०६४ बमोजिम निर्देशन दिएको थियो । सरकारको साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धताको पूर्णपाठ यसप्रकार छः 

    सरकारको साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता

    २०८१ असार १७ गते नेपाली कांग्रेस र नेकपा ९एमाले० बीच संयुक्त सरकार निर्माणका लागि सम्पन्न ७ बुँदे सहमतिमा व्यक्त राष्ट्रियहितको रक्षा, संविधानको कार्यान्वयन र विकास, राजनीतिक स्थायित्व, सुशासन, गतिशील अर्थतन्त्र, विकास निर्माणमा तीव्रता र आर्थिक समृद्धिलगायत जनचाहनालाई संबोधन गर्ने सङ्कल्पका साथ यो नीतिगत प्रतिबद्धता सार्वजनिक गरिएको छ ।

    सप्तकोशी नदीमा खसेको एउटा बसका यात्रुहरूको सकुशल उद्धार

    विराटनगर । बिहीबार बेलुका कोशी ब्यारेजबाट सप्तकोशी नदीमा खसेको एउटा बसका यात्रुहरूको सकुशल उद्धार गरिएको छ ।  विराटनगरबाट सप्तरीतर्फ जादै गरेको बस साझ करिब ६ः०५ मा कोशी ब्यारेजको पुलबाट तल नदीमा खसेको थियो ।

     

    बस खसेको जानकारी आएपछि प्रहरी टोली खटिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले द्धारतर्फ ध्यान दिएका थिए ।

    राजस्व अनुसन्धान विभागको ध्यान चोरी तस्करी नियन्त्रणतर्फ

    काठमाडौँ । राजस्व अनुसन्धान विभागको ध्यान चोरी तस्करी  नियन्त्रणतर्फ गएको छ ।ठुला चाडपर्व नजिकिएसँगै चोरी तस्करी बढ्ने  आशंकामा विभागको ध्यान चोरी तस्करी नियन्त्रण गर्ने तर्फ केन्द्रित भएको हो ।राजस्व अनुसन्धान विभागका  महानिर्देशक चण्डीप्रसाद घिमिरेले नेपालीहरू ठुला चाडपर्व दशैँ तिहार र छठ नजिकिएसँगै छिमेकी मुलुकहरूबाट चोरी तस्करी बढ्ने आशंकामा त्यसको नियन्त्रणका लागि राजस्व अनुसन्धान विभागको ध्यानकेन्द्रित भएको बताएका छन् ।महानिर्देशक घिमिरेले सीमाक्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रणका लागि राज्यका सबै निकाय संयुक्तरूपमा परिचालित हुने समेत नयाँ सडकसँगको संक्षिप्त कुराकानीमा बताएका छन् ।

     

    राजस्व अनुसन्धान विभागले पछिल्लो समय उत्तर छिमेकी मुलुक चीनतर्फका नाका र दक्षिणी छिमेकी मुलुक भारततर्फका नाकाहरूबाट छुटेका मालवाहक सवारी साधनको रेन्डमली चेकजाँच तीव्र बनाएको छ ।

    आय विवरण दाखिला गर्ने म्याद थप गरिनु पर्दछ :नेपाल चेम्बर अफ कमर्स

    काठमाडौं ।  वार्षिक १ करोड रुपैयाँसम्म कारोवार गर्ने एकलौटी फर्म र शुन्य कारोवार भएका निकायहरुको सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने आन्तरिक राजश्व विभागको निर्णयप्रति ध्यानाकर्षण भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । यस्तै वार्षिक २५ करोड रुपैयाँ सम्म कारोवार भएका निकाय र अन्य करदाताहरुको मंसिर मसान्त  सम्म मात्र म्याद थप हुने व्यवस्था एवं वार्षिक २५ करोड रुपैयाँ भन्दा वढीको कारोवार गर्ने करदाताहरुको सम्बन्धमा पौष २० गते सम्म मात्र म्याद थप हुने व्यवस्था प्रति चेम्बरले विमती जनाएको हो । मुलुकको अर्थतन्त्र शिथिल अवस्थामा रहेको एवं निजी क्षेत्रको मनोबल खस्किरहेको वर्तमान अवस्थामा विद्यमान कानूनी व्यवस्था विपरित भएको विभागको पछिल्लो निर्णयले व्यवासायिक क्षेत्रमा गम्भिर असर गर्ने चेम्बरले उल्लेख गरेको छ । आन्तरिक राजश्व विभागको निर्णय सच्याउन समेत चेम्बरले आग्रह गरेको छ  ।

    तीन दिन भारी वर्षाको चेतावनी, विपद् व्यवस्थापनका लागि ‘अलर्ट’ मा सशस्त्र प्रहरी

    काठमाडौँ ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारी वर्षा हुने जानकारी गराएसँगै सशस्त्र प्रहरी बल नेपालले सम्भावित विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको जनाएको छ।

     

    मौसम विज्ञान विभागले आगामी तीन दिन (शुक्रबार, शनिबार र आइतबार)भारी वर्षा हुने भन्दै सूचना जारी गरेको छ। ५६ वटा जिल्लामा वर्षाको ुरेड अलर्टु जारी गर्दै सचेत रहन आग्रह समेत गरेको छ।

    यस्तो अवस्थामा बाढी, पहिरो र डुबानका कारण हुनसक्ने विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल नेपाल तयारी अवस्थामा बसेको हो।

    सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन महाशाखाका सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले आफूहरु विपद्का कारण आइपर्ने घटनाहरुको व्यवस्थापनका लागि स्रोत, साधनसहित तयारी अवस्थामा रहेको जानकारी दिए।‌

    रेमिटेन्स आप्रवाह १८ प्रतिशतले वृद्धि, साउनमा भित्रियो १ खर्ब ३६ अर्ब

    काठमाडौं ।  चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना साउनमा रेमिटेन्स आप्रवाह बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार विप्रेषण आप्रवाह १८ प्रतिशतले वृद्धि भइ १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो। 

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो।

    आइएमएफद्वारा पाकिस्तानका लागि सात अर्ब ऋण स्वीकृत तत्काल १ अर्ब डलर प्राप्त हुनेछ

    इस्लामाबाद ।अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले पाकिस्तानको कमजोर अर्थतन्त्रलाई राहत दिनका लागि सात अर्ब अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।  

     

    तीन वर्षे ऋण कार्यक्रमअन्तर्गत पाकिस्तानी अर्थतन्त्रलाई बलियो बनाउन जारी प्रयासलाई समर्थन गरी आर्थिक वृद्धिका मार्गहरु सिर्जना गर्न अब्बल आर्थिक नीति र सुधारहरू आवश्यक पर्ने आईएमएफले विज्ञप्तिमार्फत उल्लेख गरेको छ  । 

    आएएमएफका अनुसार पाकिस्तान गत जुलाईमा उक्त सम्झौतामा सहमत भएपछि ऋण स्वीकृत भएको हो । 

    बुधबार न्यूयोर्कमा राष्ट्रसङ्घको महासभामा बोल्दै प्रधानमन्त्री शाहबाज सरिफले साउदी अरब, चीन र संयुक्त अरब इमिरेट्सको समर्थनका कारण सम्झौता भएको बताउनुभएको छ ।

    पाँच पालिकामा एक सय ९९ विद्युत् प्रसारण लाइनको टावर निर्माण गरिने

    तनहुँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)मार्फत तनहुँका पाँच पालिकामा विद्युत् प्रसारण लाइनका लागि एक सय ९९ वटा टावर निर्माण गरिने भएको छ । 

     

    जिल्लाको व्यास नगरपालिका र आबुँखैरेनी, बन्दीपुर,  ऋषिङ तथा घिरिङ गाउँपालिकामा उक्त टावर निर्माण गर्न लागिएको हो ।

    सवस्टेशनअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यकपर्ने यहाँका विभिन्न ठाउँमा जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । 

    उहाँकानुसार एमसिए नेपालद्वारा सञ्चालित ४०० केभी विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सवस्टेसनदेखि दमौली सवस्टेशन हुँदै बुटवल सवस्टेन खण्डअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माण गरिनेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij