
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ६७ औँ वार्षिकोत्सव मनाएको छ ।सन् १९५८ जुलाई १ मा स्थापना भएको सरकारी वायुसेवा कम्पनीको रुपमा परिचित निगमले स्थापनाको ६७औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको हो ।
२८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरेको कम्पनीले ६७ वर्षको लामो सेवा अवधिको क्रममा पछिल्लो पटक वाइडबडी ए ३३०–२०० सिरिजको विमान ल्याएर सेवा दिइरहेको छ ।निगमले हाल अन्तरराष्ट्रियतर्फ भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेटसको दुबई र साउदी अरबको रियादमा उडान सेवा सञ्चालन गर्दै आएको छ । निगमले दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० सिरिजका विमानमार्फत अन्तरराष्ट्रिय उडान गरिरहेको छ ।
आन्तरिकतर्फ दुर्गम भेगका विमानस्थलमा निगमले सेवा दिइरहेको जनाएको छ । निगमसँग आन्तरिक उडानका लागि दुई थान ट्विनअटर विमान छन् । विमानको अभावले आन्तरिक बजारमा निगमको सेवा कमजोर देखिन्छ । ६७ वर्षको इतिहास बोकेको निगमको ऋण दायित्व ५० अर्ब रुपैयाँको हाराहारीमा रहेको जनाइएको छ ।
वाइडबडी विमान खरिद गर्न कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको भएपनि विमान सेवा राम्ररी सञ्चालन हुन नसकेकाले कम्पनी ऋणमा पुगेको सम्बद्ध अधिकारीहरूले नाम उल्लेख नखुलाउने शर्तमा बताएका छन् । तर उड्डयन क्षेत्रमा विज्ञहरूमा निगमकै उत्पादनहरू बढी रहेको उनको भनाइ छ । निगमको विद्यमान अवस्थाको सुधारका लागि पटकपटक अध्ययन समिति बने पनि तिनको कार्यान्वयन हुन नसकेको हो । अन्य सरकारी कम्पनीहरू राजनीतिक नेतृत्वका लागि दुहुनो गाई भएर सकिएजस्तै निगमको हालत त्यस्तै भइरहेको चिन्ता उनको छ ।
निगमका प्रवक्ता सुवास डाँगीले जानकारी सार्वजनिक गरे अनुसार निगमले अन्तरराष्ट्रिय गन्तव्यमा भएका चारवटै वाइडबडी विमान पूर्ण क्षमताका साथ सञ्चालन गरिरहेको छ । आन्तरिक बजारमा विमानको संख्या कम भएकाले सबै गन्तव्यमा सेवा विस्तार गर्न नसकिएको हो । निगमको ६७औँ वार्षिकोत्सवका अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको निगमले विज्ञप्तिमार्फत जनाएको छ । वार्षिकोत्सव मूल समारोह समितिअन्तर्गत खेलकुद उपसमितद्वारा आयोजित सातदोबाटोस्थित एन्फा खेल मैदनमा प्रतियोगिता भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको उपस्थितिमा भएको उक्त प्रतियोगितामा निगमका पुरुष कर्मचारीहरूको समूह, महिला कर्मचारीको समूह तथा निगमका कार्यकारी समूहहरूबीच छुट्टाछुट्टै प्रतियोगिता सञ्चालन भएका थिए । वार्षिकोत्सवकै अवसरमा खुला कविता वाचन प्रतियोगिता तथा टेबल टेनिस प्रतियोगिता पनि सम्पन्न भएको जनाइएको छ । जुलाई एकका दिन
निगमले आज बिहान केन्द्रीय कार्यालयपरिसरमा प्रभातफेरीको आयोजना गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij