
काठमाडौँ । होटल संघ नेपालको एक प्रतिनिधिमण्डलले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई भेटेर बजेटमा घोषित कार्यक्रमहरूलाई सफल पार्न मौद्रिक नीति सो अनुकूल ल्याउन आग्रह गरेको छ ।भेटमा बधाई ज्ञापन गर्दै संघका अध्यक्ष विनायक शाह नेतृत्वको टोलीले नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेटमा पर्यटन क्षेत्र र होटल उद्योगका लागि बजेटबाट घोषित कार्यक्रमहरुको सफल एवं प्रभावकारी कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकबाट जारी हुने मौद्रिक नीतिमा उपयुक्त नीति अवलम्बन गर्न आग्रह गरेको हो ।
उक्त अवसरमा संघका अध्यक्ष विनायक शाहले पूर्वाधारहरुको उचित व्यवस्थापन हुन नसकेका कारण होटल व्यवसाय सञ्चालनमा प्रत्यक्ष तथा अप्रत्यक्ष खर्चमा भारी मात्रामा वृद्धि भएको र मागको अनुपातमा होटल रुमहरुको अत्यधिक आपूर्ति रही क्षमताको एक तिहाई मात्र माग रहेको हुँदा नियमित किस्ता र नियमित व्याज भुक्तान गर्नसमेत कठिनाइ भएको बताए ।
उनले व्यवसायको वित्तीय अवस्थाअनुसार विशेष उद्योग सरह कर्जाको साँवा व्याज भुक्तानी गर्न पाउने व्यवस्था मिलाउन आग्रह गर्दै अध्यक्ष शाहले होटलको डलर खाता प्रयोग गर्न विभिन्न निकायहरुको अनुमति तथा सिफारिस प्राप्त गर्नुपर्ने र सो प्रक्रियामा समय लाग्ने भएको हुनाले होटलहरुलाई भुक्तानी गर्न सहज हुने व्यवस्था मिलाउन भने । उनका अनुसार होटलको स्तर हेरी अमेरिकी डलर टपअपको दायरा विस्तार गर्दै होटलको नाममा प्रिपेड डलर कार्ड अथवा डलर क्रेटिड कार्ड उपलब्ध गराई दिँदा थप प्रभावकारी हुने छ । पर्यटकहरुले पाँच हजार अमेरिकी डलर साथमा ल्याउन पाउने व्यवस्था भएसँगै हालको प्रावधानअनुसार पर्यटकहरुले एक पटकमा अमेरिकी डलर ३ सय मात्र सटही गर्न पाउने भन्ने रहेको हुँदा ठूला तारे होटलहरुमा आउने खर्चालु पर्यटकहरुका लागि यो रकम अपर्याप्त भएकोले यसलाई बढाउन पर्छ ।
अधिकांश होटलहरुको देश विदेशबाट अनलाइन प्लाटफर्ममार्फत बुकिङ आउने गरेको परिप्रेक्ष्यमा अनलाइन बुकिङ प्लाटफर्मबाट भारतीय तथा नेपाली नागरिकहरुले बुकिङ गरेको खण्डमा बुकिङ वापतको रकमको भुक्तानी आआफ्नो मुद्रामा गर्ने गरेको तर उक्त प्लाटफर्मलाई कमिसन डलरबाट गर्नुपर्ने बाध्यता रहेकोमा यसको समाधान गरिनुपर्ने आवश्यकता होटल व्यवसायीहरूको छ ।
सुझावपत्रमा नेपाल सरकारले समेत होटल उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग, विशेष उद्योग सरहको छुट तथा उत्पादनमूलक उद्योग सरहको छुट तथा सुविधा प्रदान गरी राष्ट्रिय महत्वको उद्योगको मान्यता दिएको हुँदा त्यहाँबाट समेत यसैअनुसार विशेष प्राथमिकतामा राखेर प्रदान गरिने कर्जामा बेस रेटमा एक प्रतिशतभन्दा नबढ्ने गरी व्याज कायम गर्दै पर्यटन उद्योगको मेरुदण्डको रुपमा रहेको यस होटल उद्योगलाई प्रोत्साहन नीति अवलम्बन गरिनुपर्ने विषय समेटिएको छ ।
विशेष गरी नेपाली कम्पनीहरुले समेत विदेशमा शाखा विस्तार गरी होटलहरुको प्रबद्र्धनमार्फत समग्र पर्यटन उद्योगको प्रबद्र्धन तथा विकास हुने मात्र नभई मुलुककै पर्यटन प्रबद्र्धन हुने भएकोले ती कम्पनीहरुका लागि विदेशी मुद्रा कारोबारका लागि स्वीकृति दिनुपर्ने आवश्यकता रहेको जनाइयो । भेटमा गभर्नर डा. पौडेलले सक्दो सहयोग गर्ने विश्वास दिलाएको भेटघाट कार्यक्रममा सम्बद्ध स्रोतले जनाएका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij